आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय तथा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गत भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) को सहकार्यमा आयोजित “अन्तर्राष्ट्रिय योग दिवस २०२६ तथा आयुर्वेद एक्स्पो” भव्य रूपमा सम्पन्न भएको छ।
“स्वस्थ उमेरका लागि योग” भन्ने मूल नारासहित आयुर्वेद क्याम्पस, कीर्तिपुरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशिल बहादुर बज्राचार्य, विशिष्ट अतिथिहरु भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) का निर्देशक श्री वशिष्ट नन्दन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सन्तोष कुमार ठाकुर, त्रि.वि. आयुर्वेद शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह-प्राध्यापक डा. विनोद कुमार सिंह,त्रि.वि. अनुगमन निर्देशनालयका पूर्व कार्यकारी निर्देशक सह-प्रा.डा. विष्णु प्रसाद खनाल ज्युहरुको उपस्थिति संगै स्वास्थ्य, शिक्षा तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्व, प्राध्यापक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात सामूहिक योग अभ्यासबाट गरिएको थियो। सहभागीहरूले Common Yoga Protocol अन्तर्गत योग अभ्यास गर्दै योगलाई स्वस्थ जीवनशैली, मानसिक सन्तुलन तथा रोग निवारणसँग जोडिएको वैज्ञानिक अभ्यासका रूपमा आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यसपछि प्रमुख अतिथिज्यू द्वारा उद्घाटन गरिएको आयुर्वेद एक्स्पो मा आयुर्वेद क्याम्पसका विभिन्न विभागहरूले आफ्नो विषयगत गतिविधि, अनुसन्धान तथा उपचार प्रणाली प्रदर्शन गरेका थिए। एक्स्पोमा आयुर्वेद औषधि, जडीबुटी, पञ्चकर्म, स्वास्थ्य प्रवर्द्धन, नाडी परीक्षण तथा योग–आधारित जीवनशैलीसम्बन्धी प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। त्रि.वि. आयुर्वेद शिक्षण अस्पतालमा नि:शूल्क स्वास्थ्य परीक्षण समेत आयोजना गरिएको थियो। एक्सपोमा नेपाल तथा भारतमा रहेका विभिन्न कम्पनीहरु द्वारा आयुर्वेद सम्बन्धि औषधिहरुको प्रदर्शनी पनि गरिएको थियो।
काठमाडौँ केन्द्रित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता यस कार्यक्रमको आकर्षण रहेको थियो। विद्यालय तहका विद्यार्थीहरूले समूहगत रूपमा एक्स्पो अवलोकन गर्दै आयुर्वेद, योग, स्वस्थ जीवनशैली, औषधीय वनस्पति तथा रोग रोकथामसम्बन्धी जानकारी प्राप्त गरेका थिए। विद्यार्थीहरूलाई विभिन्न विभागीय प्रदर्शनीमार्फत आयुर्वेदको आधारभूत अवधारणा, दैनिक स्वास्थ्य व्यवहार, योग अभ्यास तथा प्राकृतिक स्वास्थ्य संरक्षणका विषयमा प्रत्यक्ष सिकाइको अवसर प्रदान गरिएको थियो तथा नि:शूल्क स्वास्थ्य परीक्षण समेत गराएका थिए।
औपचारिक वैज्ञानिक सत्रको अध्यक्षता क्याम्पसका क्याम्पस प्रमुख सह-प्राध्यापक डा. शिव मंगल प्रसादले गर्नु भएको थियो भने कार्यक्रमको संयोजक उप-प्राध्यापक डा. मिथिलेश कुमार साह रहनु भएको थियो । उद्घाटन समारोहमा बोल्दै अतिथिहरूले योग र आयुर्वेदलाई आधुनिक स्वास्थ्य सेवासँग समन्वय गरी सार्वजनिक स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले परम्परागत ज्ञान प्रणालीको संरक्षणसँगै अनुसन्धान र प्रमाणमा आधारित अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमअन्तर्गत आयोजित वैज्ञानिक सत्रमा “मानसिक स्वास्थ्यको लागि आयुर्वेद र प्राणायाम” विषयमा विशेष व्याख्यान उप-प्राध्यापक डा. प्रतिभा त्रिपाठी द्वारा प्रस्तुत गरिएको थियो। उक्त प्रस्तुतिमा योग अभ्यासले मानसिक स्वास्थ्य तथा समग्र जीवन गुणस्तर सुधारमा पुर्याउने प्रभावबारे अनुसन्धानपरक दृष्टिकोण प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि तथा एक्सपोमा सहभागी सहयोगि संथाहरुलाई सम्मान प्रदान गरिएको थियो भने आयोजक संस्थाहरूबीच भविष्यमा योग, आयुर्वेद, अनुसन्धान तथा शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमको समापन गर्दै आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुखले योग र आयुर्वेदलाई व्यवहारमा आधारित स्वस्थ संस्कृति निर्माणको माध्यमका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।